संक्षिप्त परिचय

कुमार पन्त (जन्म सन् १९७६) गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष हुन् । उपाध्यक्षमा दुई कार्यकाल योगदान गरिसकेका पन्त महासचिव, सदस्य, युरोप संयोजक समेतको भूमिका निभाइसकेका छन् ।

उनको जर्मनी लगायत युरोपका विभिन्न देशमा होटलहरुमा लगानी छ । नेपालमा जलविद्युत परियोजना, बैंकिङ, रेमिट्यान्स, रियल स्टेट, सिमेन्ट उद्योग लगायतमा लगानी छ ।

सन् २००४ मा एनआरएन अभियानमा संलग्न भएका उनी अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रका संयोजक भए । सन् २००९–२०११ मा अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भएसँगै युरोप क्षेत्रको संयोजकको जिम्मेवारी वहन गर्न पुगे । सन् २०१३–२०१५ मा महासचिव भए र २०१५ देखि २०१९ सम्म दुई कार्यकाल आईसीसी उपाध्यक्षको जिम्मेवारीमा रहे ।

विभिन्न देशमा छरिएका नेपालीलाई संगठित, राष्ट्रिय समन्वय परिषद स्थापना र सञ्चालनमा समन्वय, निष्क्रिय र समस्याग्रस्त एनसीसीहरुलाई सक्रिय बनाउन सफल भूमिका खेलेका कारण पनि उनी विश्वभरिका एनआरएनमाझ परिचित छन् ।

नेपालमा एनआरएनमैत्री नीति, नियम र संविधान बनाउन, लगानीको वातावरण निर्माण तथा सहजीकरण, संसारभरिका एनआरएनलाई स्वदेशमा आर्थिक–बौद्धिक लगानी एवं परोपकारी कार्य गर्न प्रोत्साहित गर्ने अभियानमा पनि सक्रिय रहँदै आएका छन् ।

भूकम्प लगायत नेपालमा बाढी, पहिरो, आँधीजस्ता प्राकृतिक विपत्तिका बेला राहत, उद्धार, पुनःनिर्माण लगायत परोपकारी कार्यको संयोजन गरी आफै कार्यक्षेत्रमा समेत खटिएका थिए ।

स्वदेशलाई समृद्ध बनाउने अभियानको साझेदार गैरआवासीय नेपाली बन्नुपर्छ भन्ने मान्यताका साथ पन्त एनआरएनको रु. १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने अभियानमा सक्रिय छन् ।

गोर्खाको फुजेलमा जन्मिएका उनी विद्यार्थीका रुपमा सन् १९९९ मा जर्मनी गएका थिए । समाजशास्त्रमा स्नातक पन्त जर्मनीको फ्र्यांकफर्टमा बस्छन् ।

 

Read more...