आफ्नो ब्यक्तिगत फाइदाका लागि नभई संस्थाका लागि लागिपर्ने ब्यक्तिले मात्र संस्थालाई सही नेतृत्व दिन सक्छ – कुमार पन्त

कुमार पन्त

महासचिव, गैरआवासीय नेपाली संघ

गैरआवासीय नेपाली संघको महासचिवका रुपमा एक कार्यकाल पुरा गर्नुभयो । वर्तमान कार्यसमितिको कामलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

जब म दुई बर्ष अगाडी महासचिवका रुपमा निर्वाचित भएर आएँ, त्यतिबेला यो महासचिव भन्ने पद र यसको जिम्मेवारी जति सजिलो होला भन्ने सोचेको थिएँ, त्यस्तो बिल्कुलै रहेनछ । धेरै नै सक्रिय हुनुपर्ने र गम्भिर प्रकृतिका काम गर्नुपर्ने जिम्मेवारी रहेछ । इमान्दारीपूर्वक भन्नुपर्दा, हामीले जति सफलता पाउँछौं भन्ने लागेको थियो, त्योभन्दा धेरै सफलता हात लागे यो अबधिमा । जब हामीले कार्यकाल सुरु गर्‍यौं, त्यतिबेला संघ दर्ता हुँदा दुई बर्ष बिदेशमा बस्ने नेपालीलाई मात्र एनआरएन मान्ने अबस्था आयो र बिद्यार्थीलाई पनि एनआरएनको परिभाषामा राखिएन ।

खाडी क्षेत्रमा रहेका धेरै नेपाली एनआरएन नहुँदा पंजिकृत सदस्य घट्ने हुन कि, यो अभियानमा लागेका हजारौं बिद्यार्थी साथीहरु बाहिर हुँदा यसप्रतिको आर्कषण घट्ने हो कि भन्ने हामीलाई चिन्ता थियो । तर, त्यस्तो भएन ।

३० हजार पंजीकृत सदस्य बढेर ५० हजारभन्दा धेरै पुगेका छन् । यसले पनि एनआरएनप्रतिको आर्कषण बढेको देखाउँछ । सुरु हुँदा एनआरएनले जुन उदेश्य बोकेको थियो, त्यो उदेश्यप्राप्तिको दिशामा संस्था लम्किरहेको छ, हामीले यो संस्थाको विकाशमा केही इट्टा थप्न सक्यौं जस्तो अनुभूति भएको छ ।

यसमा एनआरएन साथीहरुको साथ सवैभन्दा महत्वपूर्ण हो । हामीले आह्वान गर्नासाथ भूकम्पका बेला करोडौं रुपैयाँ संकलन हुन सक्यो भने सयौं साथीहरु आए स्वयंसेवी रुपमा सहयोग गर्नुभयो । यसले के देखाउँछ भने गैरआवासीय नेपाली संघमा आबद्ध रहेर नेपालको बिकाशमा सहभागी बन्न सक्ने ठूलो शक्ति हामीसँग रहेछ । भविष्यमा पनि हामीले यस्तै ठूलाठूला उपलब्धि हाँसिल गर्न सक्छौं जस्तो लाग्छ ।

बुँदागतरुपमा भन्दा अहिलेको कार्यसमितिले हाँसिल गरेका मुख्य मुख्य उपलब्धिहरु केके हुन् ?

मैले अघि नै भने कि पहिलो उपलब्धि भनेको हाम्रो संस्थाका सदस्य झण्डै दोब्बर भएका छन् यो दुई बर्षको अबधिमा । यसैगरी परोपकारी क्षेत्रमा गर्ने लगानी झण्डै ६ गुणा बढेको छ । अघिल्लो कार्यकालमा १० करोडको परोपकारी काम गरेका थियौं भने अहिले झण्डै ६० करोड पुगिसक्यो । भूकम्पका बेला गरेको कामको रकम हटाइदिनुभयो भने पनि दोब्बरभन्दा धेरै परोपकारी काममा खर्च गर्न सक्यौं ।

हामीले कार्यकालको सुरुमै १० करोडको लागतमा एनआरएनको आफ्नै भवन बनाउने घोषणा गरेका थियौं, अहिले हामीसँग करिव १९ करोडको प्रतिबद्धता आइसकेको छ भने १३ करोड रुपैयाँको जग्गा खरिद गरिसकेका छौं । एनआरएन भवन भनेको सम्पूर्ण एनआरएनको अनुहार हो, त्यसैले यो राम्रो लोकेसनमा हुनुपर्छ, भब्य हुनुपर्छ भन्ने हामीलाई लाग्यो, त्यहीअनुसार सवै साथीहरुले सहयोग पनि गर्नुभयो ।

यस्तै दुई बर्षअघि ६४ वटा देशमा हाम्रो संजाल थियो भने अहिले ७१ वटा पुगिसक्यो । राष्ट्रिय समन्वय समिति मात्र हैन, ती समिति अन्र्तगत क्षेत्रीय समितिहरुलाई पनि निकै विस्तार गरेका छौं, यो दुई बर्षमा सयौं क्षेत्रीय समितिहरु निर्माण भएका छन् । हामीले नागरिकताको बिषय धेरै बर्षदेखि उठाउँदै आएका थियौं, अहिलेको संविधानले एनआरएनलाई बिशेष नागरिकता दिने ब्यबस्था गरेको । भूकम्पबाट प्रभावित क्षेत्रमा हामीले ३५ करोडको लागतमा एक हजार घर बनाइदिने तयारी गरिरहेका छौं । मलाई लाग्छ यी हाम्रो कार्यकालका मुख्य उपलब्धी हुन् ।

तपाईले यति धेरै उपलब्धीहरु सुनाउनुभयो । यही कार्यकालमा यी काम हुनु संयोगमात्र हो कि ?

यी सानो मेहेनतले आर्जन भएका कुराहरु हुन जस्तो मलाई लाग्दैन् । सयौं मिटिङहरु भएका छन्, हाम्रा अध्यष शेष घले हरेक महिनाको दुईपटक जस्तो काठमाण्डौ आउनुहुन्छ, अरु साथीहरु पनि निरन्तर काठमाण्डौ भ्रमण गरिरहेका छौं । टीमका साथीहरुको मेहेनतको फल हो एकैपटक यतिधेरै काम हुनुुमा भन्ने मलाई लाग्छ ।

पुराना एजेण्डाहरु कार्यन्वयन हुँदै जाँदा एनआरएनका एजेण्डा पनि फेरिदै गएका हुन् ? एनआरएनका अबका प्राथमिकता के हुन् ? कस्ता चुनौती देख्नुहुन्छ ?

गैरआवासीय नेपाली संघ आफ्ना लागि झोलामा मागैमाग बोकेर हिड्ने संस्था हैन् । सुरुकै दिनदेखि हाम्रा माग र एजेण्डाहरु प्रष्ट छ, त्यो हो मुलुकलाई धनी बनाउने । हाम्रो मात्र पहलले त्यो सम्भव छैन् तर हामी नेपाल सरकारसँग मिलेर सम्बृद्धिको अभियानमा सहभागी बन्न सक्छौं भन्ने हो ।

हरेक दिन करिव १७ सय नेपाली युवाहरु कामको खोजीमा बिदेशिन्छन् । देश बनाउन सक्ने जोस जाँगर भएका यस्ता युवाहरु बिदेश गइराख्दा मुलुक सम्बृद्ध बन्न सक्दैन् । त्यसैले मुलुकमा रोजगारी सिर्जनाका लागि गैरआवासीय नेपाली योगदान गर्न चाहान्छन् । हामीले कुरा मात्र गरिरहेका छैनौं, लगानी पनि गरिरहेका छौं ।

दुई बर्ष अगाडी मात्र हामीले एनआरएनको सामूहिक लगानीमा दोर्दीखोला जलबिद्युत आयोजना निर्माण थालेका छौं । सामूहिक लगानीका सन्र्दभमा त्यो परिक्षण सफल भएको छ ।

अबको हाम्रो योजना पनि प्रष्ट छ, मुलुकमा बढिभन्दा बढि लगानी भित्राउने, रोजगारी सिर्जना गर्ने सम्बृद्धितर्फ लम्किने र भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माणमा सहयोग गर्ने । आगामी कार्यसमितिले पनि यही मुल एजेण्डालाई पछ्याउने छ भन्ने मलाइ लाग्छ ।

केही दिनभित्रै हुने गैरआवासीय नेपालीहरुको अधिवेशनले अर्को कार्यकालका लागि नेतृत्व चयन गर्दै छ । तपाईंको अनुभवमा यी लक्ष्य हाँसिल गर्न कस्तो नेतृत्व हुनुपर्छ ?

नेतृत्वका आकांक्षी धेरै हुन्छन् तर काम कसले गर्न सक्छ भन्ने मुख्य कुरा हो । यो सम्मेलनमा सहभागी हुन आउनुहुने करिव १ हजार ५ सय मतदाता साथीहरुले नेतृत्वका आकांक्षी सवै साथीहरुलाई ब्यक्तिगतरुपमै चिन्नुहुन्छ । कस्तो खालको नेतृत्वले मात्र हाम्रा एजेण्डा र मागहरुलाई सम्बोधन गर्न सक्छ भन्ने कुरा उहाँहरुले राम्रोसँग बुझ्नु भएको छ ।

मेरो अनुभवमा चाहिँ एकदमै इमान्दार र उदेश्य प्राप्तिमा लागि पर्ने र आफ्नो ब्यक्तिगत फाइदाका लागि नभई संस्थाका लागि पर्ने ब्यक्तिले मात्र संस्थालाई सही नेतृत्व दिन सक्छ, आफ्नो ब्यक्तिगत फाइदा हेर्ने मानिसले यस्तो संस्थाको नेतृत्व गर्न सक्दैन् । यो कुरा सवै साथीहरुले बुझ्नुभएको छ र त्यहीअनुसार नेतृत्व छान्नुहुन्छ भन्नेमा म बिश्वस्त छु ।

तपाईको कार्यकालमा पनि बेलायत, अमेरिका लागयतका मुलुकमा नेतृत्व चयनका बिषयमा निकै बिबाद भयो । तर, पछिल्लो चरणमा मिलेको देखिन्छ । जापान लगायतका केही देशहरुमा प्रजातान्त्रिक तरिकाले मतदान गरेर हुलाकबाट मतपत्र पठाएर पनि नेतृत्व छानियो । नेतृत्व चयन गर्ने सन्दर्भमा एनआरएन समुदाय पहिलेभन्दा परिपक्क बन्दै गएको हो कि यो मेलमिलाप क्षणिकमात्र हो ?

विगतका अनुभवबाट हामीले शिक्षा लिएका छौं र कमजोरी सुधार गरेका छौं । कतिपय सन्दर्भमा केन्द्रीय नेतृत्वले पनि यस्ता बिबाद मिलाउन पहल गर्नु परेको छ । समग्रमा विस्तारै संस्था परिपक्क हुँदै गएको कुरा साँचो हो । योसँगै गैरआवासीय नेपाली संघप्रतिको आर्कषण पनि बढ्दै छ ।

बढ्दो संख्यालाई ब्यबस्थित गर्न पनि संस्था परिपक्क र दुरुस्त हुन जरुरी छ । संस्थाभित्र बिधि र प्रकृयालाई सम्मान गर्ने हो संस्था परिपक्क हुँदै जान्छ भन्ने हाम्रो आफ्नै अनुभवले पनि देखाउँछ । यो क्षणिक हैन्, परिपक्कता अझै बढ्दै जाने छ ।

खासगरी खाडी क्षेत्रमा गैरआवासीय नेपाली संघका बिषयमा केही असन्तुष्टी देखिन्छन् । जबजब चुनाव आउँछ त्यस क्षेत्रका उम्मेदवारहरुले एनआरएनले खाडीलाई केही गरेन भन्दै चुनावी मुद्दा बनाउँछन् । एनआरएनलाई तपाईहरुले धनीको क्लवमात्र बनाउन खोजेको हो ? गैरआवासीय नेपाली संघले बदैशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि गर्न सक्ने कति हो ?

गैरआवासीय नेपाली संघले आफ्नो संस्था र यससँग आबद्ध साथीहरुका लागि केही गर्नुपर्ने छ भने त्यो खाडी क्षेत्रकै लागि हो । बैदेशिक रोजगारीमा जाने साथीहरुले पाउने समस्यालाई कसरी समाधान गर्ने भन्ने बिषय एनआरएन स्थापनाकालदेखिको मुख्य प्राथमिकता हो ।

यो कार्यकालमा हामीले त्यसरी बिदेशमा अलपत्र साथीहरुका लागि कल्याणकारी कोष स्थापना गरेका छौं र अध्यक्ष शेष घलेले एक करोड रुपैयाँ उपलब्ध गराउनुभएको छ । अरु साथीहरु पनि त्यसमा योगदान गर्न तयार हुनुहुन्छ, हामीले त्यसको आकार ठूलो बनाउने तयारी गर्दागर्दै भूकम्प आयो र हाम्रो सवै प्राथमिकता त्यतातिर गयो । अवको कार्यकालमा यसलाई कार्यन्वयन गरिने छ ।

हरेक दिनजसो तीनजना नेपाली युवाको शव त्रिभुवन बिमानस्थलमा आउने गरेको र सयौं नेपालीका शव बिदेशका अस्पतालमा अलपत्र परेको दुखद अबस्था कसैबाट छिपेको छैन् ।

सुरुमा गैरआवासीय नेपाली संघलाई नेपालभित्र गफाडीको क्लव भनेर आलोचना गरिन्थ्यो । लगानीका ठूलाठूला गफ दिने तर काम केही नगर्ने भन्ने छवि बनेको थियो । पछिल्ला दुई बर्षमा गरेका कामले त्यो छवि बदल्न सहयोग गर्‍यो कि तपाईहरुप्रति अझै अबिश्वास छ ?

यो हामीमाथि लाग्ने गरेको पुरानो आरोप हो जुन अहिले कसैले पनि लगाउँदैन् । खासगरी भूकम्पका बेला गरेको कामबाट चाहिँ धेरैको दृष्टिकोण बदलिएको छ । बिदेशमा पनि एनआरएनप्रति आबद्ध हुनेहरुको संख्या तिब्ररुपमा बढेको छ, नेपालभित्र पनि हामीप्रतिको भरोसा र बिश्वास निकै बढेको पाएको छु ।

लगानीका सन्र्दभमा पनि हामीले काम गरेरै देखाएका छौं, अबौर्ं रुपैयाँको लगानीमा साथीहरुले तारे होटल सुरु गर्नुभएको छ । परोपकारी कामका सन्र्दभमा पनि हामीले दुई बर्षमा ४० करोड रुपैयाँभन्दा धेरै लगानी गरेका छौं । जसका कारण पनि गैरआवासीय नेपाली संघलाई अब गफाडीको क्लव हैन, नेपालको सम्बृद्धिको सम्बाहक, दुःखको साथीका रुपमा भरोसा गर्न थालिएको छ । हामीले ब्यबहारबाटै त्यस्तो भ्रम हटाउन सफल भएका छौं ।

दुई बर्षसम्म महासचिवजस्तो सक्रिय कार्यकारी पदमा बसेर काम गर्नुभएको तपाईं आगामी कार्यकालका लागि सेरेमोनियलजस्तो लाग्ने उपाध्यक्षको उम्मेदवार बन्नुभएको छ, किन होला ? साथै तपाईका एजेण्डाहरु केके हुन् ?

पहिले म दोस्रो प्रश्नको जवाफ दिन चाहान्छु । यदि कुनै पनि उम्मेदवार एकदमै ठूला-ठूला एजेण्डा अगाडी सारेर यो गुर्छ वा त्यो गर्छु भन्छ भने बुझ्नुहोस् उसले उटपट्याङ कुरा गरिरहेको छ । हाम्रा एजेण्डा एकदमै स्पष्ट छन- जस्तो कि, हामीले पुनःनिर्माणमा साझेदार बन्दै एक हजार घर निर्माण गर्नुछ ।

गैरआवासीय नेपालीहरुले नेपालमा पूँजी भित्राएर रोजगारी सिर्जन ागर्न सक्छन भन्ने अपेक्षा मातृभूमीले गरिरहेको छ त्यसैले सीप र पूँजी लगानी पनि बढाउनुपर्ने छ । हाम्रो आफ्नै भवन निर्माण गर्नुपर्ने छ । संघका यस्ता घोषित एजेण्डाहरु छन् जसलाई पुरा गर्न पाउनु नै ठूलो कुरा हो । संघको वास्तविकतालाई ख्याल नगरी ठूला ठूला एजेण्डाहरु बनाउनु ब्यबहारिक हैन् ।

तपाईको अर्को प्रश्न थियो, सक्रिय कार्यकारी पदमा बसेको मान्छे किन उपाध्यक्षमा जान लाग्नुभएको भन्ने । मलाई के लाग्छ भने, कुनै पनि पद आफैमा सक्रिय वा निस्त्रिmय हुँदैन् । महासचिवभन्दा उपाध्यक्षले सक्रियतापूर्वक काम गरेको पनि देखेको छु र कहिलेकाहीँ कार्यकारीणीमा भएका भन्दा आईसीसी सदस्यहरुले धेरै योगदान दिएको पनि देखेको छु । भूकम्पकै बेला कतिपय कार्यसमितिका साथीहरुको नाक मुख देखिएन तर पंजीकृत सदस्य नै नभएका साथीहरु स्वयंसेवी बनेर गाउँगाउँ खटनुभयो ।

त्यसैले मेरा लागि पद मुख्य कुरा हैन, म जुन पदमा भए पनि सक्रियतापूर्वक गैरआवासीय नेपाली संघमा योगदान गर्न सक्छु । साथसाथै साथीहरुले मलाई अब अलिक माथिल्लो पदमा रहेर काम गर्नुस् भनेर सुझाव दिनुभएको छ, त्यस कारण पनि मैले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ ।

संसारभरीबाट गैरआवासीय नेपालीहरु काठमाण्डौ आइरहनुभएको छ, उहाँहरुलाई तपाईको सन्देश के छ ?

खासगरि यतिबेला मुलुकले गैरआवासीय नेपालीबाट ठूलो अपेक्षा गरेको छ । भूकम्पले तहसनहस बनाएका गाउँमा लाखौं घर बनाउनुपर्ने आबश्यकता छ जसमा हामीले एक हजार घर बनाउने तयारी गरिरहेका छौं, यो अभियानमा आ-आफ्नो सामथ्र्यअनुसार सहयोग गर्नुहोस् ।

नागरिकतामार्फत् मातृभूमीले हामीलाई अर्को गम्भिर जिम्मेवारी दिएको छ, त्यसैले जेजति सकिन्छ नेपालमा पूँजी र सीप लगानीका लागि अग्रसर हुनुहोस् । भूकम्पपछि नेपालको पर्यटनको अबस्था दयनीय बनेको छ, कम्तीमा एकजना गैरआवासीय नेपालीले आफ्ना दुई जना बिदेशी साथीलाई नेपाल पठाउन र नेपाल सुरक्षित छ भनेर सन्देश दिन सक्नुभयो भने पनि ठूलो योगदान हुन्छ ।

त्यसैले सवै साथीहरुलाई मातृभूमीप्रतिको जिम्मेबारी बोध गर्दै राष्ट्र पुनःनिर्माण र सम्बृद्धिको सम्बाहकतिर लाग्न हार्दिक अनुरोध गर्दछु।

onlinekhabar