‘अबको फोकस साना लगानीकर्ता’ – हामीले छरपस्ट रूपमा होइन, आवश्यकता भएको देशमा मात्र दूतावास राख्न भनेका हौँ ।

दुई महिनाको अवधिमा मात्र गैरआवासीय नेपालीहरूको विश्वव्यापी छाता संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)का तीनवटा क्षेत्रीय बैठक र एउटा क्षेत्रीय सम्मेलन भएका छन् । मध्यपूर्व क्षेत्र, अस्ट्रेलिया न्युजिल्यान्डसहित ओसियाना क्षेत्र र युरोप क्षेत्रका क्षेत्रीय बैठक भएका छन् भने अमेरिकाको चाहिँ क्षेत्रीय सम्मेलन नै भइसकेको छ । यिनै क्षेत्रीय बैठक र सम्मेलनको सन्दर्भ पारेर संघका उपाध्यक्ष एवं जर्मनीका उद्यमी कुमार पन्तसँगको कुराकानी :

क्षेत्रीय बैठक र सम्मेलनको सन्देश वा निचोडलाई एकीकृत रूपमा कसरी भन्नुहन्छ ?

क्षेत्रीय बैठकमा समस्याहरूबारे मात्रै धेरै छलफल हुन्छ, भयो । अमेरिकामा भएको सम्मेलन क्षेत्रीय अधिवेशन पनि थियो । त्यसमा हामीले सन् २०२० सम्म र त्यस पछाडि एनआरएन अभियान कस्तो हुनुपर्छ र त्यसको सांगठनिक संरचना कस्तो हुनुपर्छ भनेर छलफल सुरु गरेका छौँ । हाम्रो लक्ष्य भनेको नेपालको समृद्धि र विकासका निम्ति गैरआवासीय नेपालीहरूलाई प्रभावकारी ढंगले कसरी अगाडि बढाउने भन्ने एउटा र त्यसका लागि चाहिने संगठन कस्तो हुनुपर्छ भन्ने चाहिँ अर्को हो ।

एनआरएन अभियानको मुख्य उद्देश्य हो, नेपाल नै समृद्ध हुनुपर्छ, नेपालमै रोजगारीका अवसर सिर्जना गर्नुपर्दछ । त्यसका निम्ति गैरआवासीय नेपालीहरू तयार छन् । गैरआवासीय नेपालीको थप लगानी भित्र्याउन नेपालमा वातावरण अझै नबनेको र त्यसका लागि नेपाल सरकारसँग मिलेर काम गर्नुपर्ने देखिएको छ ।

जहिल्यै लगानीको वातावरण नबनेको भन्नुहुन्छ, कस्तो वातावरण हो त्यो ?

व्यक्तिगत रूपमा धेरै गैरआवासीय नेपालीले नेपालमा लगानी गर्नुभएको छ । तर संस्थागत रूपमा लगानी गर्नका निम्ति यस्तो वातावरणको कुरा उठाइएको हो । जस्तो, लगानीको सुरक्षाकै प्रसंग छ । शान्तिसुरक्षाको स्थिति, प्रशासन यन्त्रमाथिको बढी निर्भरता, स्थायी सरकार नभएको अवस्था आदिका कारण लगानी डुब्ने हो कि भन्ने चिन्ता व्याप्त छ ।

हुन त संविधान आएको छ तर अब यो कसरी कार्यान्वयन हुन्छ भन्ने चिन्ता छ । यथासम्भव छिटो संविधान कार्यान्वयन हुन सके सरकारसँगको सहकार्यमा संस्थागत रूपमै ठूला–ठूला लगानीका परियोजनाहरू अघि बढाउने हाम्रो चाहना छ ।

तपाई आफैं पनि एक लगानीकर्ता हुनुभएको नाताले अहिलेसम्मको अनुभवबाट लगानीको सुरक्षा नभएको अनुभूत गर्नुभएको छ ?

व्यक्तिगत रूपमा लगानी गर्दा हामी चिन्तित हुन्नौँ । तर संस्थागत रूपमा ठूलो लगानी गर्नका लागि चाहिँ धेरै भन्दा धेरै गैरआवासीय साथीहरूलाई सहभागी गराउनुपर्ने हुन्छ । कतिपय साथीहरू अझै पनि आश्वस्त नहुनुभएको हामीले पाएका छौँ ।

करिब चार वर्षअघि गैरआवासीय साथीहरूलाई एउटा जलविद्युत् योजनामा लगानी गर्न भनेर हामीले आह्वान गर्‍यौँ । त्यो आह्वानमा झन्डै नौ सय जना साथी सहभागी हुनुभयो र अहिले करिब करिब त्यो लगानीले मुनाफा दिने स्थिति छ । अब थप साथीहरू पनि नयाँ परियोजनामा लगानी गर्ने भनिरहनुभएको छ । यसले गैरआवासीय नेपालीहरू नेपालमा लगानीप्रति उत्सुक छन् भन्ने देखाउँछ । त्यसैले उहाँहरूको लगानी सुरक्षित हुन्छ भनेर आश्वस्त पार्ने वातावरण नेपालमा हुनुपर्छ ।
त्यो नौ सय जनाको लगानीमै पनि जटिलता बेहोरिरहेका छौँ । त्यसभन्दा ठूलोमा जानेबित्तिकै अझै जटिलता थपिन्छन् भन्ने हामीलाई थाहा छ । त्यसका निम्ति पनि अलिकति विश्वासिलो सरकार र सरकारसँगको सहकार्यचाहिँ हाम्रा लागि महत्त्वपूर्ण छ ।

ठूला मात्र होइन कि साना लगानीकर्ता खासगरी मध्यपूर्व, मलेसिया अनि युरोप अमेरिका र अस्ट्रेलियामा मध्यम आय गर्नेहरूलाई नेपालमा लगानी गरेर
आम्दानी गर्न सकिन्छ भनेर आकर्षित गर्ने के योजना छ, तपाईहरूसँग ?

ठूला लगानीकर्तालाई केमा र कस्तो ठाउँमा लगानी गर्ने वा नगर्ने भनेर हामीले भन्नु पर्दैन । हामीले ‘फोकस’ गर्ने र लगानीको वातावरण बनाउने र बनाउनुपर्छ भनेको नै साना लगानीकर्ताका लागि हो ।

रेमिट्यान्सले नै नेपालको अर्थतन्त्र धानेको छ । तर त्यो रेमिट्यान्स पठाउने मुख्य ठाउँ भनेको अमेरिका युरोप होइन कि खाडी मुलुक र मलेसिया हो । त्यहाँका साथीहरूलाई आकर्षित गर्ने वातावरण बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य छ ।

साना लगानीकर्ताको सन्दर्भ पहिलेदेखि नै उठेको हो, यसमा ठोस काम चाहिँ कहिलेदेखि हुन्छ ?

साना लगानीकर्ताहरू आकर्षित गर्न कोसिस गरिरहेकै छौँ । हाम्रै प्रयासमा पनि साना लगानीकर्तालाई एक लाख रुपियाँसम्म र ठूला लगानीकर्ताले एक करोड रुपियाँभन्दा बढी लगानी गर्न नपाउने भनेर अभ्यास गर्‍यौँ । त्यो एक लाख पनि दस जनाको एक समूह बनाएर १०–१० हजार रुपियाँका दरले लगानी गर्न सकिने अवसर हामीले सृजना गर्‍यौँ । यसको अर्थ साना लगानीकर्ताहरू बढीभन्दा बढी सहभागी होऊन् भन्ने चाहना हो ।

साना लगानीकर्तालाई आकर्षित गर्न सकिएन भने सफलता हात पार्न सकिँदैन । किनकि मलेसिया लगायत खाडी मुलुकको धेरै कमाइ नेपालमा घरजग्गा किन्नमै उपयोग भइरहेको छ ।

नेपालमा लगानीको वातावरण निर्माण गर्ने र सकेसम्म धेरै लगानी भित्र्याउने भनेर हामीले कार्ययोजना बनाएका थियौँ । तर दुर्भाग्यवश भूकम्पले गर्दा हाम्रा धेरै योजना पछाडि परेका छन् । हाम्रो मुख्य सरोकार भनेको नेपाल सरकारसँग मिलेर साना लगानीकर्ता समेतलाई लिएर नेपालमा लगानी लैजाने नै हो ।

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन हुन एक वर्ष बाँकी छ, त्यो बेलासम्म यसमा केही काम भइसक्छ त ?

हामी गृहकार्य गर्दैछौँ । त्यसबेलासम्ममा हामीले धेरै उपलब्धि हासिल गर्न सक्छौँ ।

नेपालमा लगानीको कुरा गर्दा आर्थिक लगानीको मात्रै चर्चा हुन्छ, बौद्धिक लगानी वा ज्ञान र सीपको लगानीबारे किन हुँदैन ?

लगानी भन्नेबित्तिकै पैसाको लगानी मात्रै भनेर सोच्नु हुँदैन । ‘नलेज ट्रान्सफर’ पनि महत्त्वपूर्ण पक्ष हो । साथीहरूमा भएको ज्ञान र बुद्धिलाई विदेशमा सिकेको सीपलाई देश हितमा लागि कसरी उपयोग गर्ने भन्नेतर्फ हाम्रो शक्ति केन्द्रित हुनेछ ।

यसपटकका बैठकमा पनि वैदेशिक रोजगारी कल्याणकारी कोषको प्रसंग उठेका छन्, यसमा के प्रगति छ ?

विदेशमा कल्याणकोषमा रकम जम्मा गर्ने काम सुरु गरिसकेका छौँ । वैदेशिक रोजगारीमा गएका साथीहरू विभिन्न परिवेशमा अंगभग हुने र मृत्यु हुनेको सख्या बढेको छ । अझ खाडी र मलेसियामा बढी छ । उहाँहरूकै हित र कल्याणका लागि यो कोष स्थापना गरिएको हो । अक्षयकोषको ब्याजमार्फत आएको रकम पीडितलाई दिने सोच हो । अहिले यसमा हामी सुरुआती चरणमा छौँ । केही रकम संकलन पनि भइसकेको छ ।

अर्को कुरा, हरेक एनआरएन बैठक र सम्मेलनमा दूतावास थप्न माग गरिन्छ । तर नेपालमा चाहिँ दूतावास अनावश्यक ठाउँमा भए, काम हुन सकेन, भागबन्डाको साधन मात्रै बन्यो भन्ने आलोचना छ नि ?

राजनैतिक भागबन्डामा चल्ने परम्पराको अन्त्य हुनुपर्छ । कुरीति र कुप्रथा हो, त्यो । जसले नेपाललाई माया गर्छन्, नेपालको विकासमा सहयोग गर्न खोज्छन् र जहाँ नेपाली धेरै छन, त्यहाँ दूतावास माग गरेका हौँ ।

कहीँ कहीँ नेपाली नै नभएको ठाउँमा दूतावास छ, नेपाललाई खासै ठूलो योगदान नगरेको देशमा पनि छ । हामीले छरपस्ट रूपमा होइन, आवश्यकता भएको देशमा मात्र दूतावास राख्न भनेका हौँ ।

भूकम्प पीडितका लागि एक हजार घर निर्माण गर्ने भनिएको थियो, कहिलेदेखि गर्ने ?

यो घोषणा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले भूकम्प आउनेबित्तिकै गरेको हो । युरोपमा २७ वटा राष्ट्रिय समन्यव परिषद् छन, ती सबैले एक हजार घर बनाउने अभियानमा सहयोग गर्न चाहन्छौँ भनेर यसपालि प्रतिबद्धता जाहेर गरे । यो अभियानका लागि लाग्ने रकम हामीले संकलन गरिसकेका छाँै । सरकारसँग सहकार्य गरेर गोरखाको लाप्राकमा घर बनाउन कागजी प्रक्रिया पूरा भएको छ, केही दिनभित्रै घर बनाउने काम सुरु हुँदै छ ।

क्षेत्रीय बैठकमा नेपालको पर्यटन प्रवद्र्धनबारे पनि छलफल भयो, यो अभियानले के गरेको छ त्यसका लागि ?

नेपाली धेरै भएको ठाउँमा, नेपाल जाने इच्छुकहरू धेरै भएका ठाउँमा ‘नेपाल डे’ भनेर फेस्टिभल गर्छौँ । कला संस्कृति, झाँकी, तस्बिरमार्फत नेपालबारे जानकारी गराउँछाँै । हाम्रा साथीहरू दूत र पर्यटन मेलामार्फत नेपाल चिनाउनुहुन्छ । बाँकी धेरै कुरा लगानीमै आएर ठोकिन्छ । त्यसैले पर्यटन पूर्वाधारमा गैरआवासीय नेपालीले लगानी गर्न सक्छन् कि भनेर साथीहरूलाई उत्प्रेरित गर्नुपर्ने भएको छ ।

दोहोरो नागरिकताको अभियान कहाँ पुगेको छ नि ?

विदेशमा बसेका नेपालीलाई राजनीतिक अधिकारबाहेकको नागरिकता दिनुपर्छ भनेर नेपालका प्राय: सबै दल सहमत भएर संविधानमा लिपिबद्ध भएको छ । अब गैरआवासीय नेपालीले नागरिकता पाउनेमा कुनै शंका रहेन । तर ऐन र कानुन कसरी बन्छ भन्नेमा सचेत छौँ ।

अलिकति प्रसंग बदलौँ, एनआरएनएको सांगठनिक संरचना भीमकाय हुँदै गएजस्तो लाग्दैन ?

यसमा पनि हामीले छलफल गरेका छाैँ, यति ठूलो र साथीहरूको प्रतिनिधित्व हुने संस्थामा काम गर्ने तौरतरिकालाई चुस्तदुरुस्त बनाउनुपर्छ भनेर सोचेका छौँ ।

एनआरएनए विश्व सम्मेलनलाई जहिल्यै राजनीतिबाट मुक्त राखिने भनिन्छ तर कहिल्यै हुन्न । यसलाई कसरी हटाउने वा घटाउने ?

धेरैले सुझाव दिएका छन्, एनआरएन अन्तर्राष्ट्रिय सम्मेलन नेपालबाहिर गर्न भनेर । कारण, सम्मेलन काठमाडौँमा हुने भएकाले राजनीति प्रभावित भयो । कतिपयले उम्मेदवारको प्रतिस्पर्धा र मतदानले गर्दा राजनीति भएकाले अनलाइनमार्फत मतदानको व्यवस्था गर्न सल्लाह पनि दिएका छन् ।

कुरा के हो भने जसरी हुन्छ, राजनीतिकरणलाई कम गर्न छलफल चलिरहेको छ । यो, संगठन सुदृढीकरणभित्रै पर्छ ।

ref: अबको फोकस साना लगानीकर्ता – Nepal Magazine