युरोपको होटल व्यवसायमा साम्राज्य जमाइरहेका नेपाली

काठमाडौं : युरोप टेक्दा बुवाले दिएको एक हजार डलर थियो, २० वर्षअघि । ग्रिसको एथेन्समा केही दिनमै त्यो डलर सकियो । काम पनि सजिलै नपाउँदा उनी झन्डै बेखर्चीसमेत भएका थिए । भान्जा दाइले खर्च पठाएर जर्मनीमा झिकाई उनको उद्दार गरेका थिए । हजार डलर लिएर युरोप पुगेको २० वर्ष पुग्दा कुमार पन्त दिनमै त्यस्ता हजारौं डलर मुनाफा गर्ने भइसकेका छन् ।

युरोपमा उनको लगानीका तारे होटल १० पुगिसकेका छन्, यही रफ्तार रहिरहे केही वर्षमा उनी २० भन्दा बढी होटलको मालिक हुनेछन् । जर्मनीको फ्र्यांकफर्टबाट सुरु भएको उनको होटल व्यवसाय बर्लिन, ज्युरिचतिर फैलिइसकेको छ । चेनका रूपमा फैलाउन अमेरिकामा पनि सम्भाव्यता अध्ययन भइरहेको छ । एसियामा पनि होटल खोल्ने योजनामा छन, पन्त ।

सिटी अम्ब्रेलाले होटल विस्तारका लागि अहिले अमेरिकाको न्युयोर्क, सानफ्रान्सिस्को आदिमा अध्ययन गरिरहेको छ । एसियामा पनि विस्तार गर्ने योजना छ ।

सुरुमा एथेन्स पुगेर एक वर्षपछि फ्र्यांकफर्ट छिरेका कुमारले सुरुमा युनिभर्सिटी पढ्दै होटलमा नाइट ड्युटी थालेका थिए । मेहनत÷इमान्दारी देखेर आठै महिनामा होटल साहूले कुमारलाई म्यानेजर बनाइदिए । अरु पनि होटल चलाइरहेका कोरियन साहूले त्यो होटलको पूरै जिम्मा कुमारलाई दिए । चार वर्षसम्म उनले होटल सम्हाले । उनको मेहेनत देखेको एउटा ब्रोकरले एक दिन घर भाडामा लिएर होटल चलाउन सुझाव दियो । र, घर मालिककहाँ पुर्‍यायो । घर भाडामा लिँदा ६ महिनाको भाडा अग्रिम बुझाउनुपर्ने, त्यति पैसा दिएर होटल खोल्ने हैसियत थिएन । तर, ब्रोकरले कुमारको बखान गरेर मासिक पाँच हजार युरो तिरे पुग्ने बनायो ।

फ्र्यांकफर्टमा अफगानी, पाकिस्तानी, चाइनिज, कोरियनलगायत होटल व्यवसायमा थिए । नेपालीले किन नसक्ने जस्तो लागिरहन्थ्यो । आफ्नै होटल खोल्ने वातावरण मिल्दै गए पनि उनको हैसियतले भ्याउने भइसकेको थिएन । तैपनि यतिको अनुकूल भएपछि त भगवानले अबचाहिँ अघि बढ् भनेको हुनपर्छ जस्तो लाग्यो उनलाई । उनले केही नेपाली साझेदार खोजे, पैसा जोडजाड गर्दा ८०÷९० हजार युरो पुग्यो ।

बिल्डिङको मर्मत÷रंगरोगन टेलिफोन जोड्ने आदि काममा पैसा सकियो । होटल खोल्न फर्निचरको डल्लै काम बाँकी थियो, कम्तीमा एक लाख युरो चाहिने भयो । अबचाहिँ पर्‍यो फसाद, पछाडि फर्किन पैसा फसिसक्यो, आफू, साझेदार कोहीसँग पैसा छैन । उनले बिल्डिङ मालिकलाई होटल तपाईंकै हुन्छ, म्यानेजर बनेर सुरुदेखि नाफा कमाएर देखाउँछुसम्म भन्नुपर्‍यो । मालिक मेरो क्षेत्रै हैन, रुचि छैन भन्दै पन्छिए ।

फर्निचर भाडामा दिने कम्पनी खोज्न थाले, गुगलमा । कुरा गर्‍यो, प्रोफाइल पठा भन्छ, व्यवसाय सुरु गर्नै बाँकी कुमारको प्रोफाइल हुने कुरै भएन । त्यो नहुँदा २५÷३० प्रतिशत धरौटी राख्नपर्ने, उनीसँग पैसै थिएन । उनी म्यानेजर भएको होटलको छेउमा भाडामा सामान सप्लाई गर्नेलाई उनले गुहारे । उसैले मासिक किस्ताबन्दीमा डेढ लाख युरोको फर्निचर मिलाइदियो । उनी फेरी भाग्यमानी ठहरिए । भाग्यमानी ठहरिनुमा उनले चार वर्ष होटलमा गरेको मेहनत÷इमान्दारी नै कारण थियो ।

यसरी २००६ मा फ्र्यांकफर्टको मुटुमा एभरेस्ट होटल खुल्यो । चार वर्षपछि होटल गोथे खोले, चाँडै गोथे अपार्टमेन्ट होटल थपियो । कुमार गैरआवासीय नेपाली (एनआरएन)को राजनीतिमा पनि सक्रिय थिए । यसै क्रममा एनआरएनका सुरुवातकर्ता जिवा लामिछानेसँग उनको भेटघाट भैरहन्थ्यो । जिवाको बानी बेहोरबाट कुमार प्रभावित थिए । उनले जिवालाई साझेदारीका लागि प्रस्ताव गरे । जिवा पनि मस्कोबाहिर व्यवसाय विस्तार गर्न इच्छुक थिए, प्रस्ताव आउने वित्तिकै तुरुन्तै तयार भए।

जिवा र कुमारको साझेदारीमा फ्र्यांकफर्टमा होस्टर हफ होटल खुल्यो, जुन कुमारको चौथो र जिवाको पहिलो होटल थियो । चौथो होटलदेखि कुमार र जिवा साथै छन् । पाँचौ होटल गोथे बिजनेस खोल्दा शेष घले पनि साझेदार बन्न पुगे । तर, एनआरएनमा जिवाले आफ्ना उत्तराधिकारीका लागि अघि बढाएपछि व्यापारिक साझेदारीसम्म पुगेको कुमार–जिवा–शेषको साझेदारी एउटाबाट बढेन । अध्यक्ष भएपछि शेषको जिवासँग दूरी बढ्यो, व्यापारिक साझेदारी एउटै होटलमा सीमित भयो । तर, कुमार र जिवा रोकिनेवाला थिएनन् ।

त्यसयता फ्र्यांकफर्टमै गोथे कन्फरेन्स र स्काइलाइन खुलिसकेको छ । बर्लिनमा अल्ब्याटो सञ्चालनमा आएको छ । ज्युरिकमा गोथे होटल सञ्चालनमा आउने तयारीमा छ । यसबाहेक जर्मनीकै मुस्टरमा पनि होटल निर्माण हुँदैछ । गोथे बिजनेस र स्काइलाइन चारतारे होटल हुन, बाँकी तिनतारे । होटल थपिँदै गएपछि कुमार र जिवाले सिटी बिजनेस होटल भन्ने कम्पनी खोलेर सबैलाई एउकै छातामुनि ल्याउन थाल्नुभएको छ । सिटी अम्ब्रेलाले होटल विस्तारका लागि अहिले अमेरिकाको न्युयोर्क, सानफ्रान्सिस्को आदिमा अध्ययन गरिरहेको छ । एसियामा पनि विस्तार गर्ने योजना छ ।

कुमार पन्त गोरखाको फुजेलमा जन्मिएका हुन् । पण्डित परिवारका उनका बुवा गाउँकै स्कुलमा भूगोल शिक्षक थिए । पण्डित हजुरबाले उनका बुवालाई सुरुमा सदरमुकाम गोरखा बजारमा डेरा लिएर स्कुल पढाए, कलेज पढ्न पृथ्वीनारायण क्याम्पसमा पठाए । कुमारले नपढी सुखै थिएन । पढ्न मन पनि थियो । त्योबेला गण्डकी अञ्चलमै गण्डकी बोर्डिङ स्कुल पढन्तेका लागि एउटा सपना थियो । उनले पनि गण्डकी बोर्डिङ स्कुलमा छात्रवृत्तिमा पढ्न पाउने प्रतिस्पर्धामा चारपटक प्रयास गरे, तर सफलता हात लागेन । ‘पोखरा, लम्जुङ पुगेर इन्ट्रान्स दिएको थिएँ’, उनी सम्झन्छन्, ‘छात्रवृत्तिमा सकिएन, शुल्क तिरेर पढाउने अवस्थामा परिवार थिएन ।’ दाजुचाहिँ गण्डकी बोर्डिङको फलामे ढोका पार गरिसको थिए ।

घरबाट १० मिनेटको बाटोमा स्कुल थियो । होमवर्क सकेपछि खेल्न जाने स्कुलकै चौर हुन्थ्यो, स्कुल घरजस्तै थियो । २०४६ सालमा प्रजातन्त्र आउँदा कुमार सात कक्षामा पढ्दै थिए । एकाएक गाउँको माहोल बदलियो । मिलिजुली गाउँमा बसेका दाजुभाइ, दिदिबहिनी, काका भतिज, मामा भाञ्जा अब कांग्रेस–कम्युनिष्ट भए । गाउँमा झै–झगडा, विवाद सुरु भयो । जन्ती, मलामीमा पनि पार्टी हेरिन थाल्यो । यस्तो रोगले स्कुललाई पनि छोडेन । स्कुलका शिक्षक त कांग्रेस÷कम्युनिष्ट भए नै, विद्यार्थी समेत कित्ताकाट गर्न थाले । ‘कांग्रेस शिक्षकले पढाएको कम्युनिष्ट विद्यार्थीले नपढ्ने, कम्युनिष्ट विद्यार्थीले पढाएको कांग्रेस विद्यार्थीले नपढ्ने सम्मको तिक्तता देखियो,’ उनि सम्झन्छन्, ‘गाउँमा त्यस्तो ध्रुवीकरण पनि थियो भन्ने सम्झिँदा अचेल अचम्म लाग्छ ।’

कांग्रेस विद्यार्थीले स्कुलमा कम्युनिष्ट शिक्षक भएकै कारण स्कुल फेरेको, कम्युनिष्ट विद्यार्थी कम्युनिष्ट शिक्षक भएको स्कुल खोज्दै हिड्नेसम्म भयो, त्यो बेला गोरखामा । कांग्रेस विद्यार्थी कम्युनिष्ट शिक्षकलाई देख्दा राक्षसजस्तो लाग्छ भन्थे । कम्युनिष्ट विद्यार्थी यस्तै टिप्पणी गर्थे । कतिसम्म भयो भने, कुमारले एसएलसीमा कृषि विषयमा शिक्षकले छुट्टै प्राक्टिकलको नम्बर दिनुपथ्र्यो ।

अर्को पार्टी समर्थक विद्यार्थीलाई पासमार्क मात्र र आफ्नो कित्ताकालाई झन्डै फूलमार्क दिएका थिए । फुजेलमात्र हैन, गोरखामै त्यतिबेला कांग्रेस भर्सेज जनमोर्चा थियो, एमाले कमजोर थियो । प्रजातान्त्रिक अभ्यासको सुरुवाती चरण थियो, अभ्यासकै क्रममा यस्ता विकृति बन्द भए । तैपनि त्यस्तो घटनाका चश्मदिद गवाह कुमार अहिले पनि शिक्षण संस्थामा चाहिँ राजनीतिक क्रियाकलाप बन्दै गर्नुपर्छ भन्नेमा अडिग हुनुहुन्छ ।

शिक्षक बुवाले गाउँमा कपडा दोकान खोलेका थिए, माल समान ल्याउन काठमाडौं आउनु पथ्र्यो । आठ कक्षामा पढ्दै गर्दा बुवासँगै काठमाडौं आउन पाएका थिए, कुमार । चारघन्टा पैदल हिँडेर बेनिघाटबाट बस चढेको उनले बिर्सिएका छैनन् । त्यत्रो भाँडो गुडेको देख्दा उनी तिनछक्क त परे नै, रमाइलो पनि उत्तिकै भयो । काठमाडौंमा आइपुगेपछि पहिलोचोटी बिजुली बत्ती देख्न पाए, बुवाको पछि लागेर असन÷इन्द्रचोक छिर्दा सहरका जोडिएका घर, गाडीको ताँतीले सहरमा बस्ने पो भाग्यमानी जस्तो लाग्यो । काठमाडौंमा बस्ने रहर हुँदाहँदै तीन दिनमै घर फिर्नुपर्‍यो । ‘बस्न त सहरमै बस्नपर्छ, एसएलसी पास गरेपछि त काठमाडौं आउँछु भनेर घर फर्किएको थिएँ’, उनी सुनाउँछन् ।

एसएलसी पास गरेपछि २०५० सालमा दोस्रोचोटि काठमाडौं छिरे, कुमार । आरआर क्याम्पसमा पत्रकारिता विषय लिएर आईए पास गरी बीएमा भर्ना भए । नातेदारले पढ्न ग्रिस जान हुटहुट्याएपछि उनी युरोप पुगेका हुन् । युरोपको उडान भर्नुअघि उनी जागिर माग्न तत्कालीन मन्त्री चिरञ्जीवी वाग्लेकहाँ धाएका पनि थिए । बुवाले पठाउने १५ सय रुपैयाँले काठमाडौंमा गुजारा चलाउन गाह्रोे हुन थालेपछि जिल्लाकै नेता वाग्लेकहाँ पुगेका थिए । तीनचार चोटी धाउँदा पनि मन्त्रीले जागिर दिन नसकेपछि उनले युरोप जाने योजना बुनेका थिए । ‘वाग्लेले जागिर दिलाइदिएकै भए पनि म जागिरे भएर जीवन गुजार्नेवाला चाहिँ थिइनँ’ उनी भन्छन, ‘गर्न त बिजनेस नै गर्नुपर्छ भन्ने थियो ।’

काठमाडौं देख्दा मोहित भएको केटो एथेन्स पुग्दा कस्तो भयो होला ? त्यहाँको चिल्ला÷फराकिला सडक, हुइँकिएका गाडी, सफा सुग्घर सहर देख्दा ‘हैन म पृथ्वीमा त छु’ जस्तो लागेको थियो । मान्छे पनि कति सभ्य रहेछन्, यता प्याच्च थुकेको, फोहोर फालेको, पिशाब गरेको देखिरहेको, त्यहाँका मान्छेको सभ्यता देख्दा हैन मान्छे यति अनुशासित पनि हुन्छजस्तो हुन्थ्यो । गाउँमा अरुका बोटमा फल पाकेको देख्दा चोरेरै खाइन्थ्यो । एथेन्सका फूटपाथमा लटरम्म पाकेको फलमा कसैको आँखा नलागेका देख्दा यहाँका मान्छे कति सोझा भन्ठानिन्थ्यो । काममा पुग्न दौडादौड गरिरहेका मान्छे, उनी काठमाडौं सम्झिदै उताका मान्छे कति सुस्त हिंड्दा पनि अरुले ठेल्दिन पर्ने जस्तो लाग्यो।

पहिलोचोटि बस चढ्दा एक घन्टाजति रमाइलो लागे पनि त्यसपछि रिङगटा र वाकवाकी सुरु भएपछि कहिले झरौंजस्तो भएको थियो । एथेन्स जान पहिलोचोटि प्लेन चढे । बेल्ट लाउन नजानेपछि एयर होस्टेसले लगाइ दिएकी थिइन् । प्लेनमा सर्व गरिएको खानेकुरा यस्ता थिए, कतिपय उनले पहिलोचोटि देखिरहेका थिए । ओल्टाइपल्टाइ हेरेपछि बटर भन्ने पक्का भएपछि ब्रेडमा दलेर कपाकप खाएका थिए । कफी पिउँदा तम्तमाइलो अनुहार लाएको देखेपछि छेउको सिटमा बस्नेले किन भनेर सोधे, उनले तितो भएको सुनाउँदा उसले कफी तितै हुन्छ भनेर सम्झाए ।

हजार÷पन्ध्र सय युरो कमाउनेले यत्रो हिम्मत गर्नु टर्निङ प्वाइन्ट थियो । त्यो हिम्मत नगरेको भए बिजनेसमा यत्तिको सफलता नमिल्न पनि सक्थ्यो । सुरुवातमा बिजनेस अगाडि बढाउन नसक्ने अवस्था आएपछि उनले ओनरलाई तपाईं होटल चलाउनुस् म म्यानेजर भएर काम गर्छु भन्नुपरेको थियो । अहिले होटल संख्या १० पुगिसकेका छन्, धेरैजसो बिल्डिङ आफ्नै स्वामित्वका हुन् । विश्वका विभिन्न सहरमा होटल विस्तार गर्ने लक्ष्य छ ।

खाडी र मलेसिया जानेका आफ्नै दुःख, पीडा छन् । तर, अन्यत्र श्रम गर्न गएका धेरै नेपालीमा व्यापार गर्ने हुटहुटी उनले देखेका छन् । केही वर्ष श्रम गरी पैसा बचत गरेर आफ्नै काम सुरु गर्ने क्रम तीव्र छ । कुमार एनआरएन राजनीतिका कारण संसार डुलिरहन्छन्, जहाँ गए पनि नेपाली समुदायसँगै हुन्छन् । कतिपयले व्यापार थालिसकेका छन, काम गरेकाचाहिँ अब आफ्नै बिजनेस सुरु गर्नुपर्‍यो भनिरहेका हुन्छन् । उनले थाहा पाएकामा नब्बे प्रतिशत नेपालीको व्यापार जमेको पनि छ । विदेशिएका नेपालीमा अधिकांशले श्रम गरेका हुन्, दुःख पाएका छन् । छोरा छोरीले विदेशमै राम्रो शिक्षा पाइरहेका छन् ।

कुमारका साझेदार जिवाले अरु साझेदारीमा धुम्बाराहीमा होटल सञ्चालन गर्ने तयारीमा छन् । विदेशमा एकपछि अर्को होटल थपिरहेका कुमार पनि गृह देशमा होटल खोल्न इच्छुक छन् । तर, यहाँ जग्गाको भाउ अचाक्ली महँगो छ । यहाँ चारतारे होटल खोल्ने पैसाले जर्मनीमा पाँचतारे होटल बनाउन सकिन्छ । स्काइलाइन बिजनेस होटलको अकुपेन्सी ८६÷८७ प्रतिशत छ । त्यति अकुपेन्सी भएका होटल नेपालमा भेट्न गाह्रो छ । ‘रेटमा पनि उताका हाम्रा चारतारे होटलभन्दा यहाँका पाँचतारे सस्ता छन्,’ कुमार भन्छन, ‘तैपनि आफ्नो देशमा होटल त खोल्छु नै ।’ बुँदाहजार डलर लिएर युरोप पुगेको २० वर्ष पुग्दा कुमारपन्त दिनमै त्यस्ता हजारौं डलर मुनाफा गर्ने भइसकेका छन् ।

युरोपमा उनको लगानीका तारे होटल १० पुगिसकेका छन्, यही रफ्तार रहिरहे केही वर्षमा उनी २० भन्दा बढी होटलको मालिक हुनेछन् । विश्वका विभिन्न सहरमा होटल विस्तार गर्ने लक्ष्य छ । खाडी र मलेसिया जानेका आफ्नै दुःख, पीडा छन् । तर, अन्यत्र श्रम गर्न गएका धेरै नेपालीमा व्यापार गर्ने हुटहुटी उनले देखेका छन् ।

प्रस्तुति : सुजित महत आइतवार, साउन १५, २०७४
Source : http://annapurnapost.com/news-details/76410