एनआरएनएको अध्यक्षमा यसकारण मेरो उम्मेदवारी

डेढ दशकदेखि विदेसिएका नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ एनआरएनएको नवौ विश्वसम्मेलन अब केही सातामात्र बाँकी छ। यहीबीचमा मैले पत्रकारसम्मेलनबाट मिडियामा आफ्नो दस बुँदे कार्ययोजनाको विज्ञप्तिसहित उम्मेदवारीको दाबी सार्वजनिक गरिसकेको छु।

प्रत्येक विश्वसम्मेलनबाट हामीले संस्थाको नेतृत्व परिवर्तन गर्दैगर्दा संस्थाको गरिमा, प्रवासिएका नेपालीहरूको साख र देशप्रतिको दायित्वबाट विचलित हुनुहुँदैन भन्ने मान्यतालाई आत्मसाथ गर्दै संस्थालाई कुनै पनि आइडोलोजीबाट अक्षुण्ण राख्नुपर्ने दायित्व हाम्रो हो।

सानातिना र झिनामसिना स्वार्थका कारण जो कसैले विदेसिएका नेपालीहरूको विश्वासमा अडेको संस्थाप्रति आँच पुर्याउनु हुँदैन। नेतृत्वको लालसा हुने जोकोहीलाई स्वस्थ प्रतिस्पर्धा, प्रजातान्त्रिक प्रक्रिया स्पष्ट भिजनकासाथ नेतृत्व लिन विगतदेखिनै थिति बसालिएकै हो।

देशभित्र र बाहिर रहेका लाखौं करोडौं दाजुभाइ दिदीबहिनीलगायत सबैको आशाको केन्द्रविन्दु मानिएको अर्थात् विदेसिएका नेपालीहरूको साझा संस्था जो देशभित्र भैपरी आउने जुनसुकै अवस्थामा पनि मियो झैं तत्काल खडा हुने दरिलो नेतृत्वले नेतृत्वदायी भूमिका निभायबाट भरोसा बढेको सर्बविदितै छ। यसै सन्दर्भमा कहिलेकाहीँ हामीबीच लगाइने आरोपहरू वा अर्थात् धनीहरूको क्लब हो एनआरएनए भन्ने भनाइ र भ्रमबाट मुक्त गर्न मेरै भिजनमा साथीहरूको सहयोगले गतवर्ष हामीले ज्ञानसीप विश्वसम्मेलन पनि सफतापूर्वक सम्पन्न गरेका थियौं।

सो सम्मेलनबाट के स्पष्ट भएको छ भने विदेसिएका नेपालीहरूबाट पैसामात्रै भित्रिँदैन उनीहरूको सीप क्षमता र ज्ञानसमेतबाट देश र जनताले फाइदा लिन सक्छन् भन्ने अभिप्राय थियो। हामीले त्यो गर्यौं।

आधिकारिकरूपमा डाटा नभए पनि करिब ५० लाख भन्दाबढी विदेसिएका नेपालीहरूको अगुवा गर्ने उद्धेश्यले खडा भएको यस संस्थामा अहिलेसम्म करिब ७० हजार पंजिकृत सदस्य हुनु आफैंमा लज्जास्पद कुरा भएकोले हुनाले आगामी नेतृत्वमा मेरो स्पष्ट भिजन के छ भने हामीले निशुल्क पाँच लाख सदस्यता बढाउने निश्चित गरेका छौं। त्यसको लागि मैले छुट्टै योजनाहरू सार्वजनिक गर्नेछु।

पंजीकृत सदस्य बढाउने र एनआरएन कार्डलाई सरकारसँग सदस्यता गर्दै प्रोत्साहित गर्ने लक्ष्य अगाडि सार्ने योजनाहरू छन्। यस पटकको नेतृत्वमा नयाँ र फरक ढंगले संस्थालाई लैजाने विकल्पकारूपमा भिजनहरू आउनेछन्। संस्थामा भिजन भएका युवाहरूलाई प्रोत्साहन गर्नेगरी आगामी वर्षमा हुने ज्ञानसीप सम्मेलनको अगुवा नै युवाहरूबाट गराउने भन्ने छ।

अरु महाधिवेशनभन्दा यसपटकको महाधिवेशन फरक हुनेछ भन्ने लाग्दछ। मुख्यकुरा के भने विभिन्न देशहरू घुम्दा साथीहरूबाट के पाएको छु भने कतैकतै संस्थाप्रति विश्वास त गुमेको हैन भन्ने भान बुझेको छु।

मलाई लाग्दछ संस्थामा सक्षम नेतृत्व मात्रै भएर हुँदैन विवेकशील नेतृत्व जरुरी छ। जसले विदेसिएका दाजुभाइहरूको मर्म र आफ्नोपनलाई समेटोस् भन्ने हो।
युरोप वा अमेरिकामा कुनै बार, रेष्टुरेन्ट वा होटलमा काम गर्दागर्दै बेहोस हुनुपर्ने अवस्थामा उसले संस्थालाई सम्झियोस्।

केही भैहालेमा एनआरएनए छ नि भन्ने फिल होस्। दुबई, कतार, साउदी मलेसियालगायत देशहरूमा काम गर्ने दाजुभाइहरूमा दुर्घटना हुँदा होस् वा कम्पनीले सर्त र नियमानुसार पारिश्रामिक नदिँदा संस्थालाई सम्झिउन् भन्ने हो।
म आफैं पनि जर्मननिवासी भएको हुनाले कोरिया वा जापानमा नेपाली कामदारको माग हुने र सरकारले सहज र सरलरूपमा नेपाली श्रमिक पठाउने हुँदा युरोपमा किन नपठाउने भन्ने प्रश्न मनमा छ।

पोर्चुगल, स्पेन, माल्टा, इटली, चेक रिपब्लिक र रोमानियामा सरकारी माध्यमबाट नेपाली कामदारहरूको माग होस्।

सरकारले नै यसको व्यवस्थापन गरोस् भन्ने मेरो अभिप्राय छ। त्यसैले यस विषयमा गैरआवासीय नेपाली संघ एनआरएनएले प्रभावकारी भूमिका खेलोस् भन्ने हो।
संस्थामा नीति भए मात्र नेतृत्व काम लाग्दछ। बिना नीतिको नेतृत्व कुनै पनि संस्था चल्न सक्दैन।

हामीसँग अहिले विभिन्न योजनाहरूमध्ये मुख्य योजना भनेको लाप्राकबस्ती सम्पन्न, एनआरएनए भवन सम्पन्न गर्ने मुख्य एजेण्डा हो।

जुन अग्रजहरूले सुरू गरेको योजनालाई समयमै सम्पन्न गर्नुपर्दछ। यिनै विषयहरू मुख्य हुन्।

म स्वयं गोरखाको फुजेल वासिन्दा भएकोले मेरो जोड लाप्राकबस्ती कार्ययोजना सम्पन्न गर्ने हो। यो योजनाको मुख्य श्रेय आदरणीय शेष घले दाइबाट सुरूआत भए पनि यसको मर्म र भावना गैरआवासीय नेपालीहरूसँग जोडिएको छ।

हामीले लाप्राकबस्ती कुनै पनि हालतमा यो पटक हस्तान्तरण गर्नुछ।

संगठन बन्नु र संगठित हुनु फरक कुरा हो। हाम्रो जोड संगठित हुनुमा छ। करिब ८० देशमा गैरआवासीय नेपाली संघ बनिसकेको छ। बनिसकेको संगठनलाई आत्मीयरूपले संगठित हुनु जरूरी छ।

संगठित भन्नाले नयाँ पुस्ता आउने वातावरणको लागि हो। अबका पुस्ता जो विदेशमा हुर्केका छन्। उनीहरू आउने बाटो तय गर्नका लागि नै ज्ञान सीप सम्मेलन गरिएको हो।

दुई किसिमका साथीहरू हुनुहुन्छ। पहिलो साथीहरूले संस्थाको गरिमा र साख कसरी जोगाउने भन्ने सोचाइ छ, अर्कोतर्फ साथीहरूको पर्ख र हेरको स्थितिमा होला।

यी दुवै स्थितिलाई विदेसिएका नेपालीहरू जो अहिलेको अवस्थामा संघर्षशील छन्। उनीहरूका लागि काम गर्नु जरुरी छ।

धेरै साथीहरूको आग्रह शुभेच्छुकहरूको जोडबल र अग्रजहरूको मनसाय हेरेर यसपटक नेतृत्व लिनुपर्ने आवश्यकता देखिएकोले मैले दाबीप्रस्तुत गरेको हो। संस्थामा लामो अनुभव र विगतमै नेतृत्वमा आउन चाहँदाचाहँदै पनि अग्रजको सुझाव र सल्लाहले आफूलाई पछाडि धकेलेको सर्बविदितै छ।

(लेखक गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष प्रत्यासी हुन्।)